नियम १४
मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
(१) ऐन तथा यस नियमावलीमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) निर्वाचन सम्बन्धी आवश्यक तालीम तथा अभिमूखिकरण कार्यक्रममा भाग लिने,
(ख) निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइएका मतपत्र लगायतका निर्वाचन सामग्री रुजु गरी बुझी लिने,
(ग) मतदान केन्द्रमा खटाईएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने,
(घ) समयमा मतदान केन्द्रमा पुगी आयोगद्वारा निर्धारित तरिकाले मतदान केन्द्र निर्माण गर्ने,
(ङ) मतदान कार्यलाई सहज तरिकाले सम्पन्न गर्न उम्मेदवारका प्रतिनिधिसँग समन्वय गर्ने,
(च) मतदान कार्यलाई सुचारु रुपले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुगमन गर्ने,
(छ) मतदानको दिन मतदानको गतिविधि सम्बन्धमा समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने,
(ज) मतदानको दिन मतदान केन्द्रमा आउने पर्यवेक्षक, पत्रकार, अनुगमनकर्ता र सुरक्षाकर्मीलाई मतदान कार्यको अवस्थाबारे जानकारी दिने,
(झ) मतदान केन्द्रमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा मतदान कार्य सम्पन्न गराउने,
(ञ) निर्वाचन पर्यवेक्षणलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने,
(ट) निर्वाचन आचार संहिता पालना गर्ने, गराउने सम्बन्धमा आवश्यक व्यवस्था गरी सोको जानकारी आयोगलाई गराउने,
(ठ) मतदान कार्य समाप्त भएपछि मतपेटिका तथा अन्य निर्वाचन सामग्री आवश्यकता अनुसार सिल गरी सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउने,
(ड) निर्वाचन अधिकृतले अधिकार प्रत्यायोजन गरे बमोजिमका अन्य काम गर्ने,
(ढ) प्रचलित कानूनी व्यवस्था र आयोगले समय–समयमा दिएका आदेश वा निर्देशनको अधीनमा रही मतदान कार्य सम्पन्न गर्ने, गराउने ।
(२) मतदान अधिकृतको प्रत्यक्ष निर्देशनमा रही मतदान कार्य सम्पन्न गर्न, गराउन मतदान अधिकृतलाई सहयोग गर्नु सहायक मतदान अधिकृतको कर्तव्य हुनेछ ।
(३) काबु बाहिरको परिस्थिति पर्न गई मतदान अधिकृतले मतदान कार्य गराउन नसक्ने भएमा सहायक मतदान अधिकृतले ऐन तथा यस नियमावली बमोजिम मतदान अधिकृतले गर्नुपर्ने भनी तोकिएका सम्पूर्ण काम कारबाही सम्पन्न गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मतदान अधिकृतले कार्य सम्पादन गर्न नसकेमा सोको जानकारी मतदान अधिकृत वा सहायक मतदान अधिकृतले तत्काल निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।